सेनासँग सहमतिपछि यसरी बन्दैछ बृहत् टुँडिखेल पार्क

30 Jul, 2020

जमलको आठ रोपनी जग्गा ‘विवाद’ ले रानीपोखरीदेखि रंगशालासम्मको क्षेत्र समेट्ने ‘बृहत् टुँडिखेल’ मास्टरप्लानलाई चर्चामा ल्याइदिएको छ।

नाचघर अगाडिको यो जग्गा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको बृहत् टुँडिखेल मास्टरप्लानको अभिन्न अंग हो। प्राधिकरणले टुँडिखेललाई अतिक्रमणमुक्त गरी रानीपोखरीदेखि रंगशालासम्म फैलिएको खुला सार्वजनिक पार्कमा परिणत गर्ने योजना अघि बढाएको छ। पहिलो चरणमा रानीपोखरी पुनर्निर्माण सकिन लागेको छ।

यसै क्रममा पोखरीसँग जोडिएको त्रिचन्द्र कलेजका केही पूर्वाधार जमलमा पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा सार्ने प्रस्ताव अघि बढाइएको छ, जसका बारेमा हामीले मंगलबार समाचार प्रकाशित गर्‍यौं।

(हेर्नुहोस्ः जमलको आठ रोपनी जग्गामा व्यापारिक कम्प्लेक्स होइन, त्रिचन्द्र कलेजको भवन बन्दै)

 

अब प्रश्न उठ्छ, बृहत् टुँडिखेलअन्तर्गत के–के पर्छन्? यो कागजी परिकल्पना मात्र हो, कि कार्यान्वयन सुरू भइसक्यो? कार्यान्वयन हुँदैछ भने कसरी हुँदैछ?

आजको स्टोरीमा म यिनै विषयमा चर्चा गर्नेछु।

२०७५ मंसिर २५ गते मैले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग लामो अन्तर्वार्ता गरी उक्त मास्टरप्लानको प्रारम्भिक विवरण लेखेको थिएँ। त्यसयता सात महिनाभन्दा बढी बितिसकेको छ। यसबीच प्राधिकरणले केही हिस्सामा काम थालिसकेको छ भने केहीमा सुरू गर्दैछ। बृहत् टुँडिखेलसँग जोडिएका सरोकारवालाहरूसँग पटक–पटक छलफल गरी मास्टरप्लानका विभिन्न ‘कम्पोनेन्ट’ संशोधनसमेत गरेको छ। यसमा प्राधिकरणले नेपाली सेनासँग गरेका छलफल प्रमुख छन्।

टुँडिखेलको एउटा महत्वपूर्ण हिस्सा सेनाको नियन्त्रणमा छ। हेडक्वार्टर, परेड खेल्ने ठाउँ, खेल मैदान, पार्टी प्यालेस, पुस्तकालय लगायतले ओगटेको क्षेत्र पनि बृहत् टुँडिखेलकै हिस्सा हो। त्यसैले, यो मास्टरप्लान कार्यान्वयन गर्न सेनासँगको सहकार्य जरूरी छ।

 

‘पछिल्लो साढे सात महिनामा हामीले कयौंचोटि सेनासँग बसेर छलफल गर्‍यौं,’ प्राधिकरण प्रमुख ज्ञवालीले केही साताअघि सिंहदरबारस्थित कार्यालयमा मास्टरप्लानको अपडेटबारे कुरा गर्दै मसँग भनेका थिए, ‘उहाँहरू यो योजनामा सहमत हुनुहुन्छ। यसनिम्ति सेनाले उपभोग गर्दै आएको कतिपय क्षेत्र सार्वजनिक प्रयोगलाई खुला गर्न राजी हुनुहुन्छ।’

उनले अगाडि भने, ‘मैले यसबारे प्रधानसेनापतिसँग नै चरणबद्ध कुरा गरेको छु। सेनालाई मर्का नपर्ने र बृहत् टुँडिखेलको योजना पनि कार्यान्वयन हुने गरी विभिन्न विकल्पमा छलफल गरेर हामीले नयाँ डिजाइन निकालेका छौं।'

यसलाई थप परिस्कृत बनाउन अहिले पनि प्राधिकरण र सेनाको संयुक्त प्राविधिक टोलीले काम गरिरहेको ज्ञवालीले बताए।

उनले संशोधनसहित तयार पारिएको मास्टरप्लानको अपडेटबारे ‘पावरप्वाइन्ट प्रेजेन्टेसन’ सहित लामो व्याख्या गरे। सबभन्दा पहिला सेनाले प्रयोग गर्दै आएको सैनिक मञ्च, टुँडिखेल र त्योभन्दा दक्षिणको सानो टुँडिखेल क्षेत्र कसरी पुनर्निर्माण हुँदैछ, त्यो हेरौं।

टुँडिखेलको खुला चउर। तस्बिर: नारायण महर्जन/सेतोपाटी

अहिले सैनिक मञ्चदेखि रंगशालासम्मको क्षेत्र सेनाको नियन्त्रणमा छ। टुँडिखेलको खुला चउरमा पनि सार्वजनिक कार्यक्रमहरू गर्न सेनाको अनुमति लिनुपर्छ। बृहत् टुँडिखेल मास्टरप्लान कार्यान्वयन निम्ति सेनाले यी क्षेत्रको केही भाग खाली गर्ने र केही सार्वजनिक प्रयोग निम्ति खुला गर्ने मोटामोटी सहमति भइसकेको ज्ञवाली बताउँछन्।

उनका अनुसार, सैनिक मञ्चको पूर्वाधार अहिलेभन्दा फराकिलो हुने गरी पुनर्निर्माण गरिनेछ। ठूल्ठूला राष्ट्रिय समारोह र विदेशी राष्ट्रप्रमुखहरूको स्वागत निम्ति सैनिक मञ्च प्रयोग गर्न सकिन्छ। सेनालाई आवश्यक पर्दा परेड खेल्न सक्छन्। बाँकी समय यो चउर टुँडिखेलमै समेटिनेछ। सुरक्षा दृष्टिले यहाँ सेनाको पहरा त रहन्छ, तर अहिलेजस्तो तारबार भने लगाइने छैन।

सैनिक मञ्च हुँदै टुँडिखेल छिर्ने वा महांकाल मन्दिर दर्शन गर्न जाने बाटो पनि खुला गरिनेछ। अहिले महांकाल जान मूल सडकमा गाडीसँग जोगिँदै हिँड्नुपर्छ। अब भने टुँडिखेल भित्रैबाट मन्दिर उक्लिने बाटो बनाइनेछ।

त्यस्तै, टुँडिखेल वरिपरि बिहान–बेलुकी हिँड्न–दौडन पैदल मार्ग निर्माण गरिनेछ। टुँडिखेलमा कुनै ठूलो उत्सव तथा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम हुँदा आवश्यक परे सैनिक मञ्चको क्षेत्र प्रयोग गर्न पाइनेछ। दक्षिणी किनारमा सहिदगेटनिर एउटा नयाँ अडिटोरियम निर्माण गरिने ज्ञवालीले बताए। सार्वजनिक उत्सव वा समारोह हुँदा उक्त अडिटोरियम प्रयोग गर्न सकिन्छ।

त्यसपछि आउँछ सहिदगेटभन्दा दक्षिणको क्षेत्र, जहाँ सेनाको खेल मैदान, पार्टी प्यालेस, पुस्तकालय लगायत छन्। सेनाले भोगचलन गर्दै आएको यो हिस्सालाई ‘स्पोर्टस् हब’ का रूपमा विकास गर्ने योजना छ, जुन रंगशालासँग जोडिन्छ। यसनिम्ति अहिले भएका केही पूर्वाधार हटाइनेछन् र खेलकुदका नयाँ पूर्वाधार थपिनेछन्। यो ‘स्पोर्टस् हब’ सर्वसाधारणको प्रयोगलाई भनेर डिजाइन गरिएको हो।

‘काठमाडौंका बासिन्दालाई खेल्ने–कुद्ने ठाउँको अभाव छ। त्यसैले, सेनाले मात्र प्रयोग गर्दै आएको टुँडिखेलको यो हिस्सालाई सर्वसाधारणको खेल मैदानमा परिणत गर्ने योजना छ। यहाँ फुटबल, क्रिकेट लगायत विभिन्न खेलकुद पूर्वाधार विकास गरिनेछ। यो क्षेत्र तल रंगशालासँग जोडिने हुँदा ‘थिम’ पनि मिल्छ। यहीँबाट रंगशाला छिर्न मिल्ने गरी बाटो खोल्नेछौं,’ उनले भने।

सैनिक पार्टी प्यालेसको संरचनालाई ‘पब्लिक अडिटोरियम’ मा परिणत गर्ने कुरा पनि चलिरहेको छ। जहाँ विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू हुनेछन्। चित्रकला प्रदर्शनीदेखि विभिन्न सार्वजनिक गोष्ठीहरू हुनेछन्। त्यसैको छेउमा रहेको सैनिक पुस्तकालय सार्वजनिक पुस्तकालयमा परिणत गर्न सकिन्छ।

भद्रकाली छेउको सैनिक हेडक्वार्टर र वरपरको क्षेत्र भने जस्ताको तस्तै राखिनेछ। भद्रकाली पेट्रोल पम्पदेखि तल माइतीघरसम्मको जुन क्षेत्र सेनाले उपभोग गर्दै आएको छ, त्यसलाई बृहत् टुँडिखेलमा समेटिने छैन। त्यो हिस्सा अहिलेजस्तै सेनाले नै प्रयोग गर्नेछ।

अहिले यहाँ सैनिक हेडक्वार्टरका लागि बहुतले नयाँ भवन बनेको छ। यसले सेनाका धेरै भौतिक आवश्यकता पूर्ति गर्नेछ। ‘नपुग भए अहिलेका पूर्वाधार एकत्रित गर्दै आवश्यकताअनुसार नयाँ भवन थप्न सकिन्छ,’ ज्ञवालीले भने, ‘सैनिक हेडक्वार्टरको यो क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भनेर छुट्टै योजनामा काम हुँदैछ।’

यी सबै कुरा गर्दा सहिदगेटको बाटो चाहिँ के हुन्छ त भन्ने प्रश्न उठ्छ। मैले यही प्रश्न ज्ञवालीसँग सोधेँ।

टुँडिखेलको खुला चउर। तस्बिर: नारायण महर्जन/सेतोपाटी

‘सहिदगेटको बाटोलाई पैदलमार्ग बनाइनेछ, जसले सुन्धाराको ऐतिहासिक क्षेत्रलाई भद्रकालीको धार्मिक क्षेत्रसँग जोड्छ। सुन्धारा क्षेत्रलाई खुला सार्वजनिक स्थलमा परिणत गर्ने छुट्टै मास्टरप्लान कार्यान्वयन भइरहेको छ। यसले सुन्धारा र बृहत् टुँडिखेल आपसमा जोडिएर सहरको बीचमा ठूलो खुला स्थल निर्माण हुनेछ। सुन्धाराको कनेक्सन टुँडिखेल र टुँडिखेलको कनेक्सन सुन्धारासँग हुन्छ,’ उनले भने।

अहिलेको बाटोलाई पैदलमार्ग बनाएपछि सवारी आवागमन निम्ति छुट्टै नयाँ बाटो बन्नेछ। सिभिल मलको ठ्याक्कै अगाडिबाट नयाँ बाटो खोलेर भद्रकालीको घुम्तीसम्म जोड्ने योजना छ।

अब हामी टुँडिखेलको सुरू विन्दु, अर्थात् रानीपोखरी र वरिपरिका क्षेत्रको कुरा गरौं।

भुइँचालोमा भत्किएको रानीपोखरी बनाउने काम लगभग सकिएको छ। बीचको बालगोपालेश्वर मन्दिर पनि डेढ–दुई महिनामा पूरा हुनेछ। यो मन्दिर राणाकालीन गुम्बज शैलीको थियो। अहिले राजा प्रताप मल्ल पालाको शिखर (ग्रन्थकूट) शैलीमा बन्दैछ, जुन हामीले चित्रमा मात्र देखेका थियौं।

संरचना तयारीपछि ६० रोपनीभन्दा बढी क्षेत्रफलको यो पोखरीमा पानी भर्ने काम सुरू भएको छ। केही दिनयताको लगातार वर्षाले पोखरीको चारैतिर पानी संकलन हुन थालेको छ। प्राधिकरणका अनुसार यहाँ ५ फिट पानी भर्न ३ करोड लिटरभन्दा बढी चाहिन्छ।

प्राधिकरणले तिहारको भाइटीकासम्म रानीपोखरीमा प्रवेश खुला गर्ने लक्ष्य लिएको छ। सम्पदाविद् तथा भूमिगत जलस्रोत विज्ञहरूले अलि बढी समय लागे पनि परम्परागत विधिबाटै पानी भर्न सुझाव दिएका छन्, जसका बारेमा हामीले सोमबार समाचार लेखेका थियौं।

(हेर्नुहोस्ः कसरी भरिएला रानीपोखरीमा लबालब पानी?)

केही दिनदेखिको वर्षाले रानीपोखरीमा भरिएको पानी। तस्बिर: नारायण महर्जन/सेतोपाटी
रानीपोखरी बनाउने काम लगभग सकिएको छ। बीचको बालगोपालेश्वर मन्दिर पनि डेढ–दुई महिनामा पूरा हुनेछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

‘बृहत् टुँडिखेलको उत्तरी मोहडा रानीपोखरीले टुँडिखेल मास्टरप्लानलाई एक कदम अगाडि बढाउनेछ,’ ज्ञवालीले यति भन्दै पावरप्वाइन्ट प्रेजेन्टेसनमा रानीपोखरीको चित्र जुम गरे।

भित्ताको सेतो पर्दामा रानीपोखरी वरिपरिका भाग खुलेर आए। अहिले जहाँ त्रिचन्द्र कलेज र प्रहरी कार्यालय भवन छ, त्यहाँ हरियाली पार्क देखियो।

‘टुँडिखेललाई पुरानै स्वरूपमा लैजान हामी रानीपोखरी वरिपरिको क्षेत्र खाली गराउँदैछौं,’ ज्ञवालीले भने, ‘त्रिचन्द्रका केही पूर्वाधार र प्रहरी कार्यालय भवन हट्नेछन्। त्यसको ठाउँमा पार्क, म्युजियम र मान्छेहरू हिँड्ने बाटो बन्नेछ।’

उनले यो योजना अझ खुलस्त विस्तार लगाए, ‘त्रिचन्द्रका ऐतिहासिक भवनहरू सबै सार्न खोजेका होइनौं। यो भ्रम कसैलाई नहोस्। ती आफैंमा सम्पदा स्थल हुन्। बृहत् टुँडिखेल बनाउँदा त्यसको पनि संरक्षण हुनेछ।’

‘घन्टाघरतर्फ त्रिचन्द्रको ऐतिहासिक भवन ‘रेट्रोफिट’ गरी जस्ताको तस्तै पुनर्निर्माण गरिनेछ। त्यसपछि घन्टाघर पछाडिको खाली जग्गा र जमलको आठ रोपनी जग्गामा त्रिचन्द्र कलेजका लागि नयाँ भवनहरू निर्माण गरिनेछन्। रानीपोखरीसँग जोडिएका संरचनाका हकमा ‘सरस्वती सदन’ भनिने पहेँलो घरबाहेक अरू भत्काइनेछ। पहेँलो घरलाई जस्ताको तस्तै पुनर्निर्माण गरिनेछ। अहिले त्रिचन्द्रका विद्यार्थीले प्रयोग गर्दै आएको बास्केटबल कोर्ट पनि बिगार्ने छैनौं,’ उनले भने।

त्रिचन्द्रका शैक्षिक पूर्वाधारलाई आधा घन्टाघरपछाडि र आधा जमलमा स्थानान्तरण गरेपछि पोखरी वरिपरिको क्षेत्र फराकिलो हुनेछ। यसका लागि त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापकहरू र विद्यार्थी संघ–संगठनका पदाधिकारीसँग विभिन्न चरणको छलफल गरी मोटामोटी सहमति भइसकेको ज्ञवाली बताउँछन्।

प्राधिकरणले घन्टाघरतर्फको भवन रेट्रोफिट गर्न गत वर्ष नै विस्तृत परियोजना प्रस्ताव र इन्जिनियरिङ डिजाइन पूरा गरिसकेको छ। चालू वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ। छिट्टै बोलपत्र निकाल्ने तयारी हुँदैछ। नयाँ भवनहरू बनाउन भारतीय एक्जिम बैंकको सहयोगअन्तर्गत २ अर्ब रुपैयाँको प्रस्ताव पठाइएको ज्ञवालीले जानकारी दिए।

त्रिचन्द्र सँगसँगै रानीपोखरीको दक्षिण–पश्चिम मोहडामा पर्ने प्रहरी कार्यालय पनि हटाइनेछ। त्यसपछि पोखरी वरिपरि सहरी बोटबिरुवा, फूलले ढकमक्क उद्यान, बाल वाटिका र केही ठाउँमा पानीको फोहोरा निर्माण गरिनेछ। यसका लागि यसै वर्षको बजेटमा रकम छुट्टयाइएको छ।

पोखरीकै किनारमा विश्वज्योति हलको ठ्याक्कै अगाडि पहिले कानुन पुस्तकालय थियो। प्राधिकरणले त्यो भवन काठमाडौंको परम्परागत आर्किटेक्चरको झलक दिने गरी रेट्रोफिट गर्दैछ। त्यसलाई संग्रहालयका रूपमा विकास गरिनेछ। यहाँ रानीपोखरी छिर्ने प्रवेश द्वार पनि हुनेछ।

घन्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवन रेट्राफिट गरिनेछ र यसको पछाडिको खाली जग्गामा कलेजकै लागि नयाँ भवन बनाइनेछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
रानीपोखरीसँग जोडिएको यो पहेँलो घरबाहेक त्रिचन्द्र कलेजका अन्य पूर्वाधार जमलको आठ रोपनी जग्गामा स्थानान्तरण गरिनेछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
पुनर्निर्माण हुँदै गरेको कानुन पुस्तकालय भवन। तस्बिर: नारायण महर्जन/सेतोपाटी

पोखरीको उत्तरतर्फ जगतनारायण मन्दिर छ। यहाँ वर्षको दुईचोटि चाँगुनारायणबाट कलश जात्रा ल्याउने परम्परा छ। एउटा साउन शुल्क द्वितीयामा, अर्को पुस शुल्क पूर्णिमा। जात्रामा नारायण, लक्ष्मी र सरस्वतीको तीनवटा कलश ल्याइन्छ। जगतनारायण मन्दिरमा पूजा गरेपछि ती कलशलाई गुर्जुपल्टनको बढाइँसहित हनुमानढोका दरबार लगिन्छ। प्राधिकरणले सांस्कृतिक महत्वको यो मन्दिर, पोखरी वरिपरिका पुराना पाटी र अन्य सम्पदाहरू पनि पुनर्निर्माण गर्दैछ।

शान्ति वाटिका अझै फराकिलो पारेर सोह्रहाते गणेशस्थानदेखि प्रहरी कार्यालयसम्म विस्तार गरिनेछ। यसरी पोखरी वरिपरि हरियाली पार्क निर्माणले भूमिगत पानीको सतह कायम राख्न मद्दत गर्छ। यो पानी ‘रिचार्ज’ गर्ने एक मुख्य स्रोत बन्न सक्छ।

शान्ति वाटिकाकै बीचमा अहिले जहाँ गणेशमान सिंहको शालिक छ, त्यहाँ पहिले मल्लकालीन ‘फल्चा’ (पाटी) थियो। उक्त फल्चा मासिएको धेरै भयो। केही पुराना तस्बिरमा मात्र त्यसको झलक पाइन्छ। प्राधिकरणले त्यसै आधारमा फल्चा ब्युँताउने योजना लिएको छ। गणेशमानको शालिक रानीपोखरीकै किनारमा पर्ने गरी नजिकै स्थानान्तरण गरिनेछ। शालिक वरिपरि जमघट गर्ने सानाे ठाउँ बनाइनेछ, जहाँ आवश्यक पर्दा सार्वजनिक कार्यक्रम गर्न सकियोस्। भेटघाट स्थल पनि होस्। कांग्रेस नेता प्रकाशमान सिंह, काठमाडौंका कांग्रेस सांसद भीमसेनदास प्रधान लगायतसँग यसबारे छलफल भएको ज्ञवाली बताउँछन्।

रानीपोखरीपछि आउँछ, रत्नपार्क। यी दुवै आपसमा गाभिनेछन्। यसो गर्दा भोटाहिटीबाट बागबजार जाने बाटो पार्कमै परिणत हुनेछ।

‘रानीपोखरी र रत्नपार्क बीचको बाटोमा सवारी आवागमन बन्द गर्दैछौं। यी दुवैलाई एकीकृत पार्क बनाइनेछ,' ज्ञवालीले भने, 'बीचमा पैदलयात्रु हिँड्ने बाटो हुन्छ। पार्क घुम्न वा फुर्सदमा टहल्न आउनेलाई बस्न कुर्सीहरू राखिनेछ। जमघट गर्न, खानपिन गर्न दुई–तीनवटा सेडहरू बनाइनेछ, जुन परम्परागत ढाँचाको हुन्छ।’

उनले अगाडि भने, ‘रत्नपार्कमा अहिले नै बगैंचा छँदैछ। यसलाई हामी ‘थिम पार्क’ का रूपमा विकास गर्छौं। गोदावरीको बोटानिकल गार्डेनजस्तै यहाँ विभिन्न जातका फूल र मध्य–सहरमा हुर्कन सक्ने पुतलीहरूमाथि अनुसन्धान हुनेछ। एउटा हिस्सामा ‘पुतली बगैंचा’ पनि निर्माण गर्न सकिन्छ।’

रानीपोखरीको किनारमा राजा प्रताप मल्ल हात्तीमा चढेको शालिक र त्यसको पछाडि ऐतिहासिक फल्चा (पाटी)। यो शालिक अहिले पनि जस्ताको तस्तै छ भने मासिएको फल्चा पुनर्स्थापना गरिँदैछ। तस्बिर साभार: ओल्ड नेपालको फेसबुकबाट
शान्ति वाटिकामा रहेको गणेशमान सिंहको शालिक, जसलाई नजिकै स्थानान्तरण गरेर यो ठाउँमा ऐतिहासिक फल्चा पुनर्स्थापना गरिनेछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

‘अहिलेको गाडी गुड्ने बाटो चाहिँ कहाँ सार्ने त?’

ज्ञवालीले प्रेजेन्टेसनमा देखिएको चित्रमा रत्नपार्क र खुलामञ्च बीचको भागतिर हात तन्काए, ‘वीर अस्पतालको ठ्याक्कै अगाडि जुन विन्दुमा रत्नपार्क र खुलामञ्च जोडिन्छ, त्यहाँबाट एउटा अन्डरपास खोल्ने योजना छ।’

अन्डरपासको योजना अघिल्लो मास्टरप्लानमा पनि थियो। अहिलेको परिस्कृत योजनामा त्यसको डिजाइन फरक रहेछ। पहिले खुलामञ्चमुनि अन्डरग्राउन्ड बाटो बनाउने भनिएको थियो। यो खर्चिलो भएर संशोधन गरिएको उनले बताए।

अब बन्ने बाटो अन्डरग्राउन्ड त होइन, तर जमिनको सतहभन्दा अलिकति होचो भएर जानेछ। यसले वीर अस्पतालबाट टुँडिखेल पल्लो छेउको विद्युत प्राधिकरणलाई जोड्नेछ। यहाँ एकतर्फी सवारी आवागमन मात्र हुन्छ। विद्युत प्राधिकरणबाट वीर अस्पताल आउने गाडीहरूले मात्र प्रयोग गर्न पाउनेछन्। अर्कोतर्फको बाटो खुलामञ्च र सैनिकमञ्च बीचमा बन्नेछ।

त्यही अन्डरपासमाथि एकठाउँ रत्नपार्क–खुलामञ्च ओहोरदोहोर गर्न पैदलमार्ग बनाइनेछ। यसले बृहत् टुँडिखेललाई जोड्छ।

खुलामञ्चको स्वरूप पहिलेभन्दा फरक छ। बीचमा कमलको फूल आकारको मण्डप हुनेछ। त्यहाँ सात प्रदेशको प्रतिनिधित्व हुने गरी सातवटा पातको आकार डिजाइन गरिनेछ। मण्डप वरिपरि सहरी बोटबिरुवा लगाइने छन्। त्यहाँ नेपालको राष्ट्रिय झन्डा पनि फर्फराइरहेको हुनेछ, जसको उचाइ ८,८४८ सेन्टिमिटर हुन्छ। यसले सगरमाथाको उचाइलाई प्रतिनिधित्व गर्छ। खुलामञ्चको सार्वजनिक ‘अडिटोरियम’ जस्ताको तस्तै पुनर्निर्माण गरिनेछ।

‘पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको खुलामञ्चले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको छ। त्यही भूमिका स्मरण गर्दै यसलाई संघीयता र राष्ट्रियताको प्रतीकका रूपमा विकास गर्ने योजना बनाएका हौं,’ ज्ञवालीले भने।

खुलामञ्चको भाग सकिएपछि टुँडिखेलको सैनिक मञ्च आउँछ। अहिले यहाँ जुन ठाउँमा मान्छे हिँड्ने बाटो छ, त्यसलाई फराकिलो पारेर एकतर्फी सवारी आवामगन गराइनेछ। यो अन्डरपास रत्नपार्क–खुलामञ्च खण्डमा जस्तै जमिनको सतहभन्दा होचो भएर जानेछ। यहाँ पनि अन्डरपासमाथि एक ठाउँ पैदलमार्ग हुनेछ, जसले खुलामञ्चलाई सैनिक मञ्चसँग जोड्छ।

रत्नपार्कको यो उद्यानलाई अब रानीपोखरीसँग गाभेर फराकिलो पार्क बनाइनेछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

रत्नपार्कको र खुलामञ्चको यो खण्डमुनि भूमिगत पार्किङ बनाउने योजना पनि छ। माथि हामीले जुन दुइटा अन्डरपासको चर्चा गर्‍यौं, यी दुवै भूमिगत पार्किङसँग जोडिनेछन्। भूमिगत पार्किङबाट खुलामञ्च वा रत्नपार्क निस्किन भित्रभित्रै भर्‍याङ वा लिफ्ट राखिनेछ। सँगसँगै, टुँडिखेलबाट काठमाडौंको ‘कोर–सिटी’ छिर्न विभिन्न ठाउँमा भूमिगत पैदलमार्ग बन्नेछ।

‘अन्डरग्राउन्ड पार्किङ काठमाडौंको कोर सिटीलाई सवारीमुक्त गर्ने योजनाको हिस्सा हो। मान्छेहरू पार्किङमा गाडी राखेर खुलामञ्च वा रत्नपार्क उक्लिनेछन् र हराभरा पार्क हुँदै मध्यसहर छिर्नेछन्। वा, भूमिगत पैदलमार्ग हुँदै जान पनि सक्छन्,’ ज्ञवालीले भने।

यसरी रानीपोखरी, रत्नपार्क, खुलामञ्च, टुँडिखेल हुँदै सेनाले प्रयोग गर्दै आएको तल्लो टुँडिखेलसहितको क्षेत्र रंगशालासँग जोडेपछि अर्को चरणमा टुँडिखेललाई भृकुटीमण्डप हुँदै पुतलीसडकसम्म विस्तार गर्ने योजना छ। यो पनि बृहत् टुँडिखेल मास्टरप्लानकै हिस्सा हो।

ज्ञवालीले पावरप्वाइन्टमा देखिएको चित्रलाई भद्रकाली–सिंहदरबार सडकमा जुम गर्न लगाए।

प्राधिकरणले यो सडक सौन्दर्यीकरण गर्दै उत्तरतर्फ प्रदर्शनीमार्गसम्मको क्षेत्र नयाँ पार्कमा विकास गर्ने योजना बनाएको छ। यो ब्लकमा केही निजी स्वामित्वका घरजग्गा छन्, तर अधिकांश सरकारी र सार्वजनिक नै छ। नेसनल ट्रेडिङ र ट्राफिक बग्गीखानाले ठूलो क्षेत्र ओगटेको छ। यी दुवै अन्यत्र सार्ने कुरा भइरहेको ज्ञवालीले जानकारी दिए।

पर्यटन बोर्डको कार्यालय भने जस्ताको तस्तै रहनेछ। त्यसपछि भृकुटीमण्डपको खुला स्थल हुन्छ। त्योभन्दा तल जहाँ केटाकेटी खेल्ने ‘फन पार्क’ छ, त्यसलाई नयाँ ढाँचामा पुनर्निर्माण गरिनेछ।

‘यो ठाउँमा हामी ठूलो फ्लायर राख्ने सोचिरहेका छौं,’ उनले भने, यस्तै फ्लायर लन्डन, सिंगापुर लगायत अन्य सहरहरूमा पनि छ। रोटे पिङजस्तै फनफनी घुम्ने यो फ्लायरको गति एकदमै सुस्त हुन्छ। फ्लायरमा चढेर सर्वसाधारणले यो पूरै क्षेत्र अवलोकन गर्न सक्नेछन्।

भृकुटीमण्डपमा रहेका प्रदर्शनी गृह र पसलहरू भने खुला स्थलमुनि ‘अन्डरग्राउन्ड’ हुनेछन्।

बृहत् टुँडिखेलको पूरै मास्टरप्लान कार्यान्वयन गर्न करिब आठ अर्ब रूपैयाँ लाग्ने अनुमान छ। केही हिस्सा प्राधिकरणले आफ्नै बजेटबाट बेहार्दैछ भने केही काठमाडौं महानगरपालिका र प्रदेश सरकारको बजेटबाट कार्यान्वयन गर्ने योजना छ। सबै तहसँग विभिन्न चरणको छलफल भइरहेको उनले जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली। तस्बिर: नारायण महर्जन/सेतोपाटी

मास्टरप्लानका विभिन्न ‘कम्पोनेन्ट’ मध्ये उत्तरतर्फ रानीपोखरी वरिपरिको हिस्सा चालू वर्षबाटै कार्यान्वयनमा गएको ज्ञवाली बताउँछन्।

‘कसरी?’ मैले सोधेँ।

‘रानीपोखरी पुनर्निर्माण दुई महिनामै सकिँदैछ। कानुन पुस्तकालय भएको घर रेट्रोफिट गरी संग्रहालय बनाउने काम पनि सुरू भइसक्यो। शान्ति वाटिका विस्तारसहित रानीपोखरी वरिपरिको क्षेत्रलाई खुला पार्कमा परिणत गर्ने योजना यही वर्षबाट कार्यान्वयन गर्दैछौं। त्रिचन्द्र कलेजको पूर्वाधार सार्न घन्टाघरपछाडि र जमलमा नयाँ भवन बनाउने काम पनि यो वर्ष सुरू हुन सक्छ,’ उनले विस्तार लगाए।

यसबीच रत्नपार्कको स्तरोन्नति र खुलामञ्च पुनर्निर्माण सुरू गर्न काठमाडौं महानगरपालिकासँग सहकार्य भइरहेको उनले जानकारी दिए।

‘यो एक वर्षमै सकिने योजना होइन, लामो समय लाग्छ,’ उनले भने, ‘त्यसैले मास्टरप्लान मन्त्रिपरिषदबाट पारित गराउने र आधिकारिक सरकारी दस्तावेजको रूप दिने तयारीमा छौं। ताकि यसका सबै कम्पोनेन्ट पूरा नहुँदासम्म कार्यान्वयनले निरन्तरता पाइरहोस्।’

ज्ञवालीको मुखबाट मास्टरप्लानको फेहरिस्त सुन्दा–सुन्दै मेरो दिमागमा बृहत् टुँडिखेलको परिकल्पना घुम्न थाल्यो।

म रानीपोखरी उत्तरको हरियाली पार्कमा छु। साना केटाकेटी खेल्दै छन्। प्रेमी–प्रेमिका हात समातेर हिँड्दै छन्। वयस्क र वृद्धवृद्धाहरू टहल्न निस्केका छन्। कतै किलकारी सुनिन्छ, कतै हाँसो। कोही भुइँमा डल्लो पारेर बात् मार्दैछन्। कोही कुनामा किताब फैलाएर बसेका।

म मग्न हुँदै रानीपोखरी छिर्छु। लबालब पानी भरिएको पोखरी फन्को मार्छु। मल्लकालीन ग्रन्थकूट शैलीको बालगोपालेश्वर मन्दिरलाई ब्याकग्राउन्डमा राखेर एउटा सेल्फी खिचिक्क पार्छु। प्रताप मल्ल हात्ती चढेको ठूलो मूर्तिको फोटो खिच्दै शान्ति वाटिका छिर्छु। रत्नपार्कमा फुलेका थरीथरीका फूल र पुतलीहरूसँग जिस्कन्छु।

त्यहाँबाट खुलामञ्चतिर जान पैदलपुल छ। म पुल नजिकै जान्छु। डिलमा उभिएर तल हेर्छु। दायाँ वीर अस्पताल र बायाँ विद्युत प्राधिकरणतर्फबाट थोरै भिरालो हुँदै बगेको अन्डरपास आपसमा जोडिएको छ। बाटोमा विद्युत प्राधिकरणतिरबाट आइरहेका एकतर्फी गाडीको लश्कर देखिन्छ, तर त्यसले मेरो पाइला रोकेको छैन। म गाडीको हर्नलाई बाल मतलब गर्दै त्यसैको माथि माथि पैदलपुल नाघेर खुलामञ्च प्रवेश गर्छु।

खुलामञ्चमा मेरो गोडामुनि कमलको फूल आकारमा बनेको मण्डप छ। माथि नेपाली झन्डा फर्फराउँदैछ। म केही बेर सुस्ताउँछु। फोटो खिच्न वरिपरि हरियालीको कमी छैन। खुलामञ्चको अडिटोरियम पनि रंगरोगन गरेर चिटिक्क छ।

म अडिटोरियम घुमेर अर्को अन्डरपास नाघ्दै सैनिक मञ्चमा प्रवेश गर्छु। सेनाको कुनै रोकतोक छैन। टुँडिखेल वरिपरि भुइँमा इँटा बिछ्याइएको पैदलमार्ग छ। छेउछेउमा स–साना बुट्यान छन्। शितल हावा चल्दैछ। चराको चिरबिरले कान चंगा हुन्छ।

केही बेर महांकाल मन्दिरमा भुल्छु। अनि पैदलमार्गमा फटाफट टुँडिखेलतिर लम्कन्छु। टुँडिखेल कहिल्यै खाली हुन्न। कहिले नेपाल सम्बतको उत्सव चल्छ, कहिले उँधौली र उँभौली मनाइन्छ। कहिले धीमेको धमधम सुनिन्छ, कहिले साकेला नाचिन्छ। फरक–फरक जातजातिका फरक–फरक उत्सवले बाह्रै महिना गुल्जार हुने यो चउर हाम्रो सांस्कृतिक विविधताको विम्ब हो।

चउरसँग जोडिएको सहिदगेटमा अचेल गाडी गुड्दैन। मान्छेहरू सपरिवार झुरूप्प-झुरूप्प सुन्धारा र भद्रकालीबीच लम्किरहेका भेटिन्छन्। अलि पर फुटबल चउर छ, जहाँ छिर्न सेनाको बन्दुकले तर्साउँदैन। केटाकेटीहरू पसिनाले लुछुप्पै भिजेर फुटबल, क्रिकेट, बास्केटबल, भलिबल खेल्दै गरेका भेटिन्छन्।

म सहरको नयाँ ‘स्पोर्टस् हब’ छिचोलेर रंगशालातिर बढ्छु। अनि बृहत् टुँडिखेलबाट बाहिरिन्छु।

आहा! हाम्रो टुँडिखेल!

ज्ञवाली आफ्नो वर्णन अन्त्य गर्दै भन्छन्, ‘मध्य–काठमाडौंको मुटुमा विशाल खुला स्थल निर्माण गर्ने हामी सबैको सपना हो। सरकारको औपचारिक दस्तावेज बन्यो भने भोलि आमजनताले पनि यो मास्टरप्लान किन कार्यान्वयन भएन भनेर आवाज उठाउन पाउँछन्। सरकारलाई घच्घच्याउन सक्छन्।’

त्यति बेला बृहत् टुँडिखेलको योजना प्राधिकरणको पावरप्वाइन्टबाट जनताको स्वामित्वमा जानेछ।

Setopati

अतिक्रमण हुनुअघिको बृहत् टुँडिखेल। तस्बिर साभार: अकुपाई टुँडिखेल अभियानको संकलनबाट

Latest Blogs